समाजवादीको मोर्चाको संयोजकमा विप्लव चयन 

काठमाडौँ । सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् ।

आज बिहान बालुवाटारमा बसेको मोर्चाको बैठकले आलोपालो प्रावधानअनुसार मोर्चाको संयोजकमा विप्लवलाई ल्याइएको हो । यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संयोजक थिए ।

बैठकपछि नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेकपाका महासचिव विप्लवले अब मोर्चाको नेतृत्व गर्ने बताए । नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका शीर्ष नेताहरुले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए ।

चार–चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले र त्यसपछि माधव कुमार नेपालले सम्हालेका थिए ।