सरकारले भुक्तानी नदिएपछि आक्रोशित किसानले सडकमै पोखे दूध

काठमाडौँ । सरकारले दूधको भुक्तानी नदिएपछि चितवनका दूध किसान सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् ।

उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको भुक्तानी नपाएको भन्दैं किसानहरुले दूध सडकमै पोखेर विरोध जनाएका हुन् । भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा भेला भएका किसानहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामासमेत माग गरेका छन् ।

चितवन दुग्ध उत्पादक सहकारीहरूले दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथिति विरोधमा आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए । किसानहरूले सडकमा दूध पोखाउनुका साथै किसानको समस्याको समाधानको लागि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएका छन् ।

पछिल्ला महिनाहरुमा दूध बिक्री वितरण हुन छाडेको, बल्लतल्ल बिक्री भएको दूधको समेत भुक्तानी नपाएकोले सडकमै दूध पोखेर आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको चितवन जिल्ला दुध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए ।

सरकारले आफूहरूको आन्दोलनलाई बेवास्ता गरिएको खण्डमा अझ सशक्त रूपमा आन्दोलन गरिने उनले बताए ।