एमाले र रास्वपाद्वारा मन्त्री ज्वालाको राजीनामा माग  

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ ।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको घटनामा मन्त्री ज्वाला दोषी रहेको छानबिन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै एमालेले विरोध जनाएको हो ।

आजको प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरे ।

यस्तै, रास्वपाका सभापति एवम् सांसद रवि लामिछानेले पनि मन्त्री ज्वालाको राजीनामा माग गरे। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ नेकपा एमाले र रास्वपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले एमालेका सचेतक महेश बर्तौलालाई समय दिएका थिए ।