हेटौँडा सिमेन्ट उद्योग माघ तेस्रो सातादेखि सञ्चालनमा आउने

काठमाडौँ । करिब तीन महिना अघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग माघको तेस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । आर्थिक अभावले कोइला व्यवस्थापन हुन नसक्दा उद्योग बन्द  भएको थियो ।

सरकारले अनुदान उपलब्ध गराएमा माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना रहेको उद्योग कार्यालयले जनाएको छ। उद्योग व्यवस्थापनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमक्ष सरकारको तर्फबाट केही अनुदान उपलब्ध गराउन अनुरोध गरेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए।

यथाशीघ्र उद्योगलाई आवश्यक पर्ने कोइला आपूर्ति गर्नका लागि अनुदान उपलब्ध गराउन अनुरोध गरिएको जनाउँदै उनले माघ तेस्रो सातासम्ममा कोइला खरिद प्रक्रिया सुरु गरी सिमेन्टको उत्पादन सुरु गर्ने लक्ष्य रहेको बताए।

उनका अनुसार अहिले उद्योगको भण्डारणमा करिब छ सय मेट्रिक टन मात्रै कोइला रहेको छ। उद्योगबाट उत्पादित मौज्दात सिमेन्ट दुई लाख २५ हजार बोरा तत्काल विभिन्न सहरमा बिक्री हुन नसकेकाले आर्थिक संकट आइपरेको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए।