डम्पिङसाइटमा फालिएको फोहरमा नवजात शिशुको शव फेला

काठमाडौँ । डम्पिङसाइटमा  फालिएको फोहोरमा नवजात शिशुको शव भेटिएको छ । उदयपुरको कटारी नगरपालिका–३ राजावासमा रहेको फोहर विसर्जनस्थल फोहर छुट्याउने क्रममा कामदारले फोहरसँगै फालिएको फोहर कपडाभित्र शिशुको शव भेटेको वडासदस्य पष्पु खाँले बताए ।

वडासदस्य खाँका अनुसार आजै बिहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्र्याक्टरले संकलन गरी लगेर फालेको फोहरमा शव भेटिएको हो । शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखेको छ । “आजै उठाइएको फोहरमा शव रहेछ,” वडासदस्य खाँले भने, “नगरपालिकाको ट्र्याक्टरमा शवलाई अस्पताल ल्याइएको छ ।”
 

इलाका प्रहरी कार्यालय कटारीले शव भेटिएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ । महिना पुगिसकेको जस्तो देखिने कपाललगायतका अंक बनिसकेको मृत नवजात शिशुको शव भेटिएको प्रहरीले जनाएको छ ।