तपाईले अझै टिकटक चलाउँदै हुनुहन्छ ? गैरकानुनी एपबाट टिकटक चलाए कारबाहीमा परिएला नि !

 काठमाडौँ - सामाजिक सद्भावमा नराम्रो असर पु¥याइरहेको भन्दै नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकबाट ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटक प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय भएको थियो । टिकटकको माध्यमबाट देशभर सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको सरकारको ठम्याइ थियो । 

तर, सरकारले निर्णय गरेको ४ दिन भइसक्दा पनि नेपालमा टिकटक बन्द हुन सकेको छैन। टिकटक चलाउँदै आएका यसका प्रयोगकर्ताले भीपीएनको माध्यमबाट सजिलै टिकटक चलाइरहेका छन् । केही इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि सरकारको कदमलार्ई साथ दिएका छन्। केही इन्टरनेटमा टिकटक पूर्णतया बन्द भइसकेको छ । 

पछिल्लो समय निकै चर्चामा रहेको टिकटकमाथि सरकारले प्रतिबन्ध लगाएपछि सरोकारवाला संस्थाले विरोधसमेत गरेका थिए । तर, विभिन्न राजनैतिक तथा सामाजिक व्यक्तित्वहरूले टिकटक बन्द गराउनु सरकारको राम्रो काम भएको बताएका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलका अनुसार प्राधिकरणले टिकटक बन्द गराउनका लागि पहल सुरु गरिसकेको छ । उनी भन्छन्, ‘सरकारको निर्णय कार्यान्वयनका लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकहरूलार्ई प्राधिकरणबाट निर्देशन दिइएको छ ।’