चिकित्सक संघले आज देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

काठमाडौँ - नेपाल चिकित्सक संघले आज आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । संघले एक विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

गत बुधवार हेटौंडा-१ स्थित रहेको सन्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त विडारीमाथि कुटपिट भएको थियो ।
एक महिना अघि डेंगुको कारण मृत्यु भएका पुरुषको आफन्तहरुको समूहले डाक्टरले लापरबाही गरेको भन्दै कुटपिट गरेका थिए । डेंगु र स्वास प्रश्वासको समस्या लिएर उपचारमा आएका एक जना बिरामीको अस्पतालमा उपचार गरिएको र त्यहाँबाट चितवन रिफर पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मृत्यु भएको एक महिनापछि उनका आफन्त सहितका युवाहरु अस्पताल प्रवेश गरेर डाक्टरहरुमाथि कुटपिट गरेका थिए ।
चिकित्सक संघले कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरेको थियो । दोषीलाई कारबाहीको प्रक्रिया अघि नबढाएको भन्दै आन्दोलनको घोषणा गरिएको संघले जनाएको छ ।

स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिले नै मेलमिलापको बाहानामा घटनालाई निस्तेज पार्न खोजेको संघको आरोप छ । प्रहरीले घटनामा संलग्न मृतककी श्रीमती, छोरी, छोरा र भतिजलाई पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुबाट तीन दिनको म्याद थप गरेको छ ।