३ वर्षपछिकै उच्च कारोबारसहित नेप्सेमा उछाल, कारोवार रकम कति ? 

 काठमाण्डौँ -साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा आज पनि दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.३३ प्रतिशत अर्थात ५४.०४ अंकले बढेर २ हजार ३६४.६३ विन्दुमा पुगेको छ । अघिल्लो दिन पनि नेप्सेमा ७० अंकको उछाल आएको थियो । उक्त दिन बजारमा ९ अर्ब १३ करोड बढीको कारोबार भएको थियो ।  

आज बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.५० प्रतिशतले बढेर ४१९.७७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०६ वटा स्क्रिप्टको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।
आज भएको कारोबार २०७८ भदौ १० पछिकै उच्च् हो । त्यसदिन नेप्सेमा १३ अर्ब बढीको कारोबार भएको थियो ।  

नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ । आज व्यापार समूहमा सबेभन्दा धेरै वृद्धि देखियो । यो समूह आज ७.३० प्रतिशतले बढ्यो ।  
त्यस्तै आज बैंकिङ समूह २.०८ प्रतिशत, विकास बैंक ४.०९, होटल समूह ५.५५,वित्त ५.५० ,लगानी १.५३,जीवन बीमा २.१४,उत्पादन तथा प्रशोधन ३.०२,लघुवित्त १.८४,म्युचुअल फण्ड ०.०८,निर्जीवन बीमा ३.३४,अन्य १.३६ र व्यापार समूह २.२ प्रतिशतले बढ्यो ।    

यो दिन सिंगटी हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २३ करोड ५५ लाख बढीको सेयर कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको आज २२ करोड ७१ लाख,सोनापुर मिनरल्सको २० करोड ३० लाख,हिमाल दोलखा हाईड्रोपावरको २० करोड २१ लाख र अरुण भ्याली हाईड्रोको १९ करोड ४३ लाख बढीको सेयर कारोबार भयो ।

आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लाग्यो । आज सेन्ट्रल फाइनान्स,सिंगटी हाईड्रो,आँखुखोला जलविद्युत,मन्दाकिनी हाईड्रो,सिईबिडि हाईड्रो र आरम्भ चौतारीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज मल्टीपर्पस फाइनान्सको सेयरमूल्य ८.९४ प्रतिशत,एसटीसीको ८.१६,आईसीएफसी फाइनान्सको ८.१० र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमूल्य ७.९१ प्रतिशतले बढ्यो ।  यो दिन माण्डु हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ३.५७ प्रतिशतले घट्यो ।