आजको मौसम : मनसुनी प्रणाली सक्रिय हुँदै, यी स्थानमा बर्षाको सम्भावना 

काठमाडौँ - हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ । 

मौसम पूर्वानुमान महाशाखा सोमबार कोशी प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएको महाशाखाको भनाई छ ।