संसद्मा रहेका विधेयकलाई सहमतिमा अघि बढाउने सन्दर्भमा शीर्ष तीन नेताबीच छलफल  हुँदै 

 काठमाण्डौँ - सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच संसद्मा रहेका विधेयकलाई सहमतिमा अघि बढाउने सन्दर्भमा आज छलफल हुँदै छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विधेयकमा सहमति जुटाउन छलफल हुने भएको हो । 

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार संवैधानिक परिषद्सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताबीच छलफल हुने भएको हो ।

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएपछि स्थगित भएको छलफल अहिले बिहान ९ बजे हुने शर्माले बताए । उनका अनुसार प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा ओली निवास बालकोट पुगेर अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गर्ने र संसद्मा विधेयक अगाडि बढाउन समझदारीका लागि छलफल गर्ने कार्यसूची रहेको छ ।