बाँसबारी छालाजुत्ता कारखाना प्रकरण : सिआइबीले विनोद चौधरीसँग बयान लिने

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिने भएको छ।

आइतबार बिहान गृहमन्त्रालयमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, गृहसचिव एकनारायण अर्याल र सिआइबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको बैठकले बाँसबारी छालाजुत्ता कारखाना प्रकरणमा चौधरीको बयान लिने निर्णय गरेको हो ।

गृहमन्त्री लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन्।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

यसअघि सिआइबीले जग्गा हिनामिना प्रकरणमा अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण थापा र च्याम्पियन फुटवेयर प्रालि/सिजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक ४५ वर्षीय सञ्जय ठाकुर पक्राउ गरेको थियो।

सोही प्रकरणमा गत माघ १८ गते पक्राउ परेका विनोदका भाइ अरुण चौधरी माघ २४ गते छुटेका थिए ।