वनभोज गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु

काठमाडौँ । रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेका स्वकीय सचिवको लक्ष्मण श्रेष्ठको अकस्मात् निधन भएको छ ।

नगरपालिकाका कर्मचारीहरूसँग वडा नं ७ सुकाजोरमा रहेको तारा खसे पोखरीमा वनभोज गएका ४८ वर्षीय श्रेष्ठको शनिवार दिउँसो अकस्मात् निधन भएको हो ।

वनभोजमा खाजा खाने क्रममा एक्कासि बिरामी परेका श्रेष्ठलाई उपचारको लागि जिल्ला अस्पताल रामेछाप लगिएको थियो । अस्पताल पुर्याइएको केही समयमै श्रेष्ठको निधन भएको बताइको छ ।

जिल्ला अस्पताल रामेछापका डा. मनोज यादवले श्रेष्ठको खाना सर्केर वा हृदयाघातको कारण निधन भएको हुनसक्ने जानकारी दिएका छन् ।

सो घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए ।

उनको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।