माओवादीले विश्वासको मत दिएर सुदूरपश्चिम प्रदेशको सत्ता संकट टर्ला ?

काठमाडौं - विश्वासको मत नपाएर एक महिनामा सुदूरपश्चिम सरकार ढलेपछि नयाँ बनेको कांग्रेस नेतृत्वको सरकारसमेत विश्वासको मत पाउनेमा आश्वस्त हुन सकेको छैन ।

प्रदेश सरकारको अंकगणितमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले आफ्ना मागहरु सम्बोधन नभए विश्वासको मत नदिने पूर्ववत अडानमा अडिग रहँदा सुदुरपश्चिम सरकार फेरि विश्वासको मत पाउनेमा अन्यौलग्रस्त देखिएको छ ।

सुदूरपश्चिम सरकार गठन भएको एक महिनामै मुख्यमन्त्रीबाट एमाले बाहिरिएकाे छ । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि माघ २७ गते सरकारबाट बाहिरिएका थिए । सुदूपश्चिम प्रदेशसभामा एमालेका १० सांसद रहेका छन् ।

उनको सरकारबाट बहिर्गमन भएलगत्तै ठूलो दलको हैसियतले सरकारको नेतृत्व गरेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह विश्वासको मत प्राप्त गर्ने ध्येयले दौडधुप तीब्र पारेका छन् ।

मुख्यमन्त्रीमा शपथ लिएपछि सुरुमै सुदूरपश्चिमको सत्ता राजनीतिमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको परिवार भेट्न पुगेका थिए । उनले विश्वासको मत लिने समयावधि नजिकिँदै गर्दा दौडधुप बढाएका हुन् ।

उनले विश्वासको मत पाउन नागरिकउन्मुक्ति या माओवादीमध्ये कुनै एकको मत पाउनुपर्ने हुन्छ । ५३ सदस्यीय प्रदेशसभाबाट विश्वासको मत लिन मुख्यमन्त्री शाहलाई २७ मतको आवश्यक पर्दछ । अहिले शाहसँग कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरी २३ सांसद रहेका छन् । अब उनलाई विश्वासको मतका लागि ४ सांसद अपरिहार्य छ ।

यस्तै नागरिक उन्मुक्तिसँग ७ र माओवादीसँग ११ सांसद रहेको प्रदेशसभामा माओवादीले मत दिने या नदिने अन्यौलपूर्ण अवस्थामा रहेको छ । अझै टुंगो लगाएको छैन ।

माओवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरीराम चौधरी यस विषयमा कुनै ठोस निर्णय नभएको बताउँछन् । उनले पार्टीको केन्द्रीय नीति अनुरुप माओवादीका सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरु अघि बढ्ने बताए । उनले डिसी नेपालसँगको कुराकानीमा भने, ‘हामी केन्द्रको गठबन्धन बेगर दायाँबायाँ गर्दैनौं । अहिले यो विषयमा हामीले कुनै निर्णय गर्ने तयारीमा छैनौं ।’

उनले केन्द्रकै सहमति अनुसार अगाडि बढ्ने तथा प्रदेशले निर्णय नगर्ने जानकारी दिए । उनले भने, ‘प्रदेशसभालाई जोगाउने सवालमा हामी सचेत छौं तर सत्ता गठबन्धनको केन्द्रीय नीति विपरीत जाने कुनै तयारी छैन ।’

कांग्रेस नेतृत्वको नयाँ सरकारलाई विश्वासको मत दिने दायीत्व नागरिक उन्मुक्तिको रहेको उनको भनाइ छ । उनले केन्द्रको गठबन्धन विपरीत रहेको यहाँको सरकारलाई मत दिन आफूहरुलाई नैतिक संकट भएको समेत खुलाशा गरे ।

उनले भने, ‘केन्द्रमा कांग्रेस गठबन्धनभन्दा बाहिर छ । हामी त्यसकै घटक भएकाले अहिले निर्णय गर्ने अवस्थामा छैनौं । केन्द्रीय नीति अनुरुप अगाडि बढ्ने पार्टीको तयारी छ । ’सुदूरपश्चिम प्रदेशसभा जोगाउन आवश्यकता अनुसार माओवादीले समयमै निर्णय गर्न छलफल चलिरहेको उनको भनाइ छ ।

कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई विश्वासको मत दिने समयावधि अझै बाँकी रहेकाले छलफल भइरहेको अध्यक्ष चौधरीले बताए ।