'राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु' : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् ।  राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा टोलीले प्रधानमन्त्रीलाई भेटी राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर ज्ञापनपत्र पेश गरेको थियो । भेटमा केसी नेतृत्वको टोलीले पछिल्लो अवधिमा बागलुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि ४ जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

साथै, अन्य जिल्लाहरूमा पनि गरगहना लुटपाटका घटना घटेको र महिलाहरू असुरक्षित भएको भन्दै जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको हो । भेटमा प्रधानमन्त्रीले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्रीले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापनपत्र सम्वोधन हुनेगरि शान्ति सुरक्षाको व्यवस्था गर्न निर्देशन दिएका छन् । जवाफमा प्रहरी महानिरीक्षकले तत्काल विशेष टोली खटाएर घटनाको अनुसन्धान र पीडितहरूले न्याय पाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री कायालयले जनाएको छ ।