बुबाले गरे १९ बर्षिय छोरीलाई बलात्कार, छोराले थाहा पाएर प्रहरीमा जाहेरी दिएपछि बञ्चरोले हानेर हत्या !

सुर्खेत - सुर्खेतको पञ्चपुरी नगरपालिका–६ मा मृत्त भेटिएका २१ वर्षीय युवकको आफ्नै बाबुले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । युवक सोमबार राति आफ्नै घर छेउमा मृत भेटिएका थिए । शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा राति १ बजेतिर फेला परेका उनको आफ्नै बाबुले हत्या गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुले नै छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । गत सोमबार बञ्चरोले हानेको अवस्थामा युवकको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालमा कात्तिकमा आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै छोराले आफ्नै बाबुविरुद्ध जाहेरी दिएका थिए ।

प्रहरीमा छोराले जाहेरी दिएको थाहा पाउन साथ बुबा फरार थिए । पीडित छोरीले बुबा नै आएर दाजुको हत्या गरेको दाबी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिएका छन् । रातिको घटना भएकाले विस्तृत अनुसन्धान भइरहको प्रहरी उपरीक्षक थापाले बताएका छन् । यता स्थानीयवासीले युवकको हत्यामा उनकै बाबु संलग्न रहेको प्रमाणहरू फेला परेका बताएका छन् ।

‘पारिवारिक मनमुटाबका कारण हत्या भएको देखिन्छ,’ उपरीक्षक थापाले भने । स्थानीयका अनुसार हत्या योजनाबद्ध रूपमा भएको छ । गत असोज २७ गते १९ वर्षीया ‘६४ वीरेन्द्रनगर क ३६’ लाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । मामाघर बस्दै आएकी छोरी बुबा भारतबाट घर फर्केपछि भेट्न बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

आफू बाबुबाट बलात्कृत भएको कुरा किशोरीले दाइलाई सुनाएकी थिइन् । दाइले गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यकाल सुर्खेतमा बुबाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएका थिए । बुबाले छोरीलाई मुद्दा नहाल्न भन्दै धम्की समेत दिएको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । मुद्दा परेपछि उनी श्रीमतीसहित भागेर भारत पसेका थिए ।