सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ । सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका छन् ।

आज बुधबार बिहान बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रूण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताउँदै दीर्घकालीन र तत्कालीन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने बताए ।

उनले सहकारीमा बचतकर्ताले राखेको रकमको सुरक्षामा ध्यान दिन आग्रह गर्दै यसमा तीनवटै तहका सरकारको समन्वयमा प्रभावकारी कदम चाल्नुपर्ने औँल्याए ।

सहकारीसम्बन्धी छलफलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालय, विभाग र निकायका अधिकारीहरू उपस्थित थिए ।