धुलिखेल नगरपालिकाद्धारा ई-पेमेन्ट सेवा सुरु

काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले इ-पेमेन्ट सेवा सञ्चालनमा ल्याएको छ । करदाताले आफ्नो व्यक्तिगत तथा भूमि (जग्गा), व्यवसाय, बहाल, सवारीसाधन आदि प्रविष्ट गर्न मिल्ने तथा आफूले तिर्ने वा बुझाउनुपर्ने कर कनेक्ट आइपिएस, क्युआर कोड, मोबाइल वालेटलगायतका अनलाइन माध्यमबाट घरबाटै तिर्न सकिने गरि यस्तो व्यवस्था सुरु गरिएको छ ।

नेपालका सात सय ५३ वटा पालिकामध्ये पहिलोपटक धुलिखेलमा उक्त सेवा सुरु भएको हो। केही महिनादेखि धुलिखेलबाट सुरु भएको स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) अन्तर्गतको मोडल अहिले नेपालका पाँच सय ३३ स्थानीय तहमा सञ्चालित छ।

धुलिखेल नगरबाट स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको नमूना कार्यक्रमअन्तर्गत करदाताले सहजरूपमा राजस्व तिर्नरबुझाउन एवम् विवरण भर्न मिल्नेगरी उक्त मोडलसँग आबद्ध भएको स्थानीय तह राजस्व पोर्टलसमेत महालेखा नियन्त्रकको कार्यालयबाट विकास भई परीक्षण सम्पन्न भएको छ।

उक्त राजस्व पोर्टलको युजर बनाइसकेपछि करदाताले आफ्नो व्यक्तिगतलगायत अनलाइन माध्यमबाट बुझाउन मिल्ने व्यवस्था गरिएको महालेखा नियन्त्रक हरिप्रसाद मैनाली एक कार्यक्रमबीच हालै धुलिखेल नगरका लागि पहिलोपटक ई-पेमेन्ट अनलाइन पोर्टलको शुभारम्भ गरेका थिए । 

नगरका नागरिकले घरमा बसेर आफ्नो राजश्वसम्बन्धी विवरण भर्दै अनलाइनमार्फत भुक्तानी गरिरहेका हुन्। सरकारले आफ्नै सफ्टवेयर निर्माण गरी सेवा प्रारम्भ गरेको यो पहिलो भएको नगर प्रमुख अशोक ब्याञ्जूले बताए । यसका लागि नगरले थप सेवा प्रभावकारी बनाउन आफ्ना वडासचिव र राजस्व शाखाका कर्मचारीलाई तालिममा पठाएको छ। तालिमपछि नगरका सबै वडामा उक्त सेवा प्रारम्भ हुने जनाइएको छ।