जिबी र रवि विरुद्ध युवराज सफलले दिए उजुरी

काठमाडौँ । ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जिवी राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी परेको छ । उनीहरु विरुद्ध  युवराज पौडेल ‘सफल’ ले उजुरी दर्ता गराएका हुन् ।

राई गोरखा मिडिया नेटवर्कको अध्यक्ष र लामिछाने एमडीको रुपमा जिम्मेवारीमा रहेको बेला गैरकानुनी रुपमा सहकारीबाट रकम लिएर नतिरी सहकारी ठगी गरेको उजुरीमा उल्लेख छ ।

सहकारीमा बचत गर्ने सदस्यलाई बाहेक अरुलाई लगानी गर्न नपाइने सहकारी नियमलाई मिँचेर विना धितो ग्यालेक्सी फोर के मा लगानी गरेको उजुरीकर्ताले आरोप लगाएका छन् । लामिछाने र राईले हजारौं बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेको उजुरीमा उल्लेख छ ।

उजुरीकर्ता सफलले राई र लामिछानेविरुद्ध मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय र गृहमन्त्रालयमा समेत उजुरी दर्ता गराएका छन् । केही दिनभित्रै प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) मा पनि उजुरी दर्ता गर्ने तयारी रहेको उनले बताए ।