ललिता निवास प्रकरणमा ४ वर्षपछि सुनुवाइ सुरु

काठमाडौँ - विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको अभियोगसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु गरेको छ । सो मुद्दा न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा पेसी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा ४ वर्षपछि अन्तिम सुनुवाइ सुरु गरेको हो ।

सो मुद्दामा मंगलबार सरकार पक्षबाट सरकारी वकिलहरूले बहस सुरु गरेका छन् । धेरै प्रतिवादी भएका कारण सो मुद्दाको सुनुवाइ निरन्तर हुने भएको छ । १ सय ७५ जना प्रतिवादी रहेको र पूर्वमन्त्री, सचिवसमेत जोडिएको ठूलो मुद्दा भएकाले विशेष सरकारी वकिलको कार्यालयले समय लिएर बहस गर्ने राय इजलासमा पेस गरेको थियो ।