शेयर बजार २३ अङ्कले घट्यो !

 काठमाण्डौँ - शेयर बजार आज सोमवार २३ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव १६ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव ४३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, होटल तथा पर्यटन, व्यापार, माइक्रोफाइनान्स, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर सबैभन्दा धेरै झन्डै ८ प्रतिशतले बढेको छ ।

आज ४८ लाख ३७ हजार कित्ता शेयर १ अर्ब २५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर शेयर ६ करोड २४ लाख रुपैयाँमा किनबेच भयो ।