सामाजिक सद्भाव खल्बलाउनेविरुद्ध गम्भीर रुपमा लाग्न  प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक एवम् सामाजिक सद्भाव खल्बलाउने क्रियाकलापविरुद्ध गम्भीर रुपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

६८औं प्रहरी दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले केही जिल्लाहरूमा देखिएको धार्मिक र सामाजिक सद्भाव खल्बलाउने घटनालाई संवदेनशील रुपमा लिनुपर्ने भन्दै यस्ता क्रियाकलापविरूद्ध गम्भीर रुपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका हुन् ।

यस्ता घटनाको नियन्त्रण र भविष्यमा दोहरिन नदिन सरकार र राजनीतिक पक्ष पनि गम्भीर हुनै पर्ने उनको भनाइ छ । श्रेष्ठले अपराधका नयाँ प्रकृतिलाई निष्तेज पार्न र गहन रुपमा अनुसन्धान गर्न संगठनलाई थप प्रविधिमैत्री बनाउदै अघि बढाउनुपर्ने भएकाले प्रहरीलाई आवश्यक स्रोत साधान उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको जिकिर गरे ।