सरकारले रोगी र निरोगी खसी–बोका छुट्याउन चिन्ह लगाउने

 काठमाडौँ - दसैंका लागि सरकारले खसी–बोका र च्याङग्रा परीक्षण गरी चिन्ह लगाउने भएको छ । सरकारले खसी बोका परीक्षण गरी शुद्ध र स्वस्थ्य खसी–बोकाको सिङमा ‘हरियो’ र रोगी खसी–बोकाको सिङमा रातो रङ लगाउने भएको छ ।उपत्यकाका विभिन्न ११ वटा स्थानबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया सुरु भएको पशुसेवा विभागले जनाएको छ ।


विभागले पशु र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै स्वस्थ्य खसीबोकाको सिङमा ‘हरियो’ र रोगीलाई ‘रातो’ चिह्न लगाउने अभियान सुरु गरिएको जनाएको छ ।

कलंकी खसी बजार, बल्खु, कालीमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल, रांगाबजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसीबजार, सल्लाघारी च्याङग्राबजार, बालाजु वाइपास नाकामा परीक्षण थालिएको छ । यस्तै, लगनखेल, धापाखेल अकाशे धारा र सुकेधारा र चन्द्रागिरी थानकोट दाउरा डिपो, दहचोक मूलपानी चौर खसी बजारस्थित होल्डिङ तथा संकलन केन्द्रमा ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्न थालिएको विभागले जनाएको छ ।