शान्ति प्रक्रिया सफल भइसक्यो, घोषणा मात्र बाँकी छ : माओवादी

काठमाडौं - सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुको विकल्प नरहेको बताएको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कुरामा विदेशी निकायहरुको सहयोग माग्ने कुरा पहिलो प्राथमिकतामा रहने बताए ।

उनले शान्ति प्रक्रिया एक हिसावमा सफल भइसके पनि निष्कर्षमा पुर्‍याएर एक प्रकारले घोषणा गर्न मात्रै बाँकी रहेको बताए । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा मौलिक रुपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छाैं भनेर विश्व समुदायलाई अपिल गर्ने काम मुख्य प्राथमिकतामा रहेको बताए ।

उनले शान्ति प्रक्रिया १८ वर्ष लागिसक्दा पनि निष्कर्षमा पुर्‍याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको बताए । उनले खासगरी तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा एमाले र अन्य सबै दलहरुसँग सहमति गरेर शान्ति प्रक्रिया टुंगो लगाउने प्रयास भइरहेको बताएका छन् ।