अरनिको हाइवेमा सडक दुर्घटनामा परी  सिन्धुपाल्चोकका दुई जनाको मृत्यु

काठमाडौँ - अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको सुकुटेमा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । 
शनिवार दिउँसो १ बजे सुकुटेको घुम्ने भन्ने स्थानमा पेट्रोल ट्याङ्कर र मोटरसाइकल आपसमा ठोकिँदा अनेरास्ववियु सिन्धुपाल्चोक सह–संयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङ घाइते भएका थिए । दुर्घटनापछि उपचारका लागि धुलिखेल अस्पताल ल्याइएकोमा सोही अस्पतालमा उनीहरूको निधन भएको प्रहरीले जनाएको हो ।  

खाडीचौरबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ३७५ नम्बरको पेट्रोल ट्याङ्कर र खाडीचौरतर्फ गइरहेको प्रदेश २ ०३१प ५९७६ नम्बरको मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना भएको प्रहरी कार्यालय बलेफीले जानकारी दिएको छ । ट्याङ्कर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।