अमेरिका जानुअघि राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

 काठमाडौं - अमेरिका हुँदै चीन भ्रमणमा निस्किनु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । राष्ट्रपतिलाई भेट्न आज बिहान उनी शीतल निवास पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारेमा जानकारी गराएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्ड आज साँझ अमेरिका जाँदैछन् । संयुक्त राष्ट्र सङ्घीय महासभामाको ७८औँ सत्रमा सहभागी हुन उनी न्युयोर्क जान लागेका हुन् । प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत छन् । परराष्ट्रमन्त्री साउदसहितका केही प्रतिनिधि यसअघि नै न्युयोर्क पुगिसकेका छन् ।