ताप्लेजुङमा बाढी–पहिरोबाट पाँचको मृत्यु, दर्जनौं परिवार विस्थापित

 ताप्लेजुङ - निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । गत बुधबारयता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्‍याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । गए राति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताए ।

प्रहरीका अनुसार शनिबार पहिरो जाँदा मिक्वाखोला–५ पापुङमा तीन परिवार विस्थापित भएका छन् । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार पापुङ, ताङ्खु टोलका आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको छ । बिहान वर्षासँगै माथिबाट झरेको पहिरोले बस्न नमल्निे गरी घरमा क्षति पुर्‍याउँदा उनीहरुको परिवारले विस्थापित हुनु परेको प्रनाउ रावलले जानकारी दिए ।

यस्तै, सिरिजंघा गाउँपालिका–६ मामाङ्खेमा शनिबार गएको पहिरोले ६ परिवार विस्थापित भएका छन् । मामाङ्खे थत्रुवाका गोरीमाया लिम्बू, पूर्णकुमार माबो र भीममाया गुरुङको परिवारले विस्थापित हुनुपरेको छ । मामाङ्खेकै थबाबुकका ख्यालमान लिम्बू र वीरबहादुर लिम्बू, आगेगाउँका चन्द्रबहादुर लिम्बूको परिवार विस्थापित भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार वर्षासँगै गएको पहिरोले सिरिजंघा–७ मा नवराज लिम्बूको घर, भान्सा घर र पशुचौपाया गरी १६ लाख ९० हजार रूपैयाँ क्षति भएको छ । त्यस्तै, शुक्रराज लिम्बूको घर पूर्णरुपमा क्षति र पशुचौपाया गरी १० लाख ८० हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।