पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान आज पनि लिइँदै

 काठमाण्डौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सोमबार नसकिएपछि मंगलबार पनि लिइँदैछ ।
उनको सोमबार बिहान सरकारी वकिलको रोहबरमा बयान लिइएको थियो । पक्राउ परेको छैटौ दिनमा मात्रै प्रहरीले उनको बयान लिन थालेको हो। गत बुधबार प्रहरीले उनलाई मैजुबहालबाट पक्राउ गरेको थियो ।

सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार सोमबार बयान नसकिएको भन्दै मंगलबार पुनः उनको बयान लिन लागिएको हो । प्रहरीले खाणविरूद्ध प्रमाण जुटाउनुपर्ने भएकाले बयान लिइसकेको थिएन । प्रहरीले खाणलाई पक्राउ गर्दा मोबाइल बरामद गरेको थियो । मोबाइल बरामद गर्नुअघि खाणले त्यसमा भएका सबै फर्म्याट गरिसकेका थिए । 

त्यसपछि प्रहरीले उनीविरूद्ध प्रमाण जुटाउनको लागि मोबाइल फरेन्सिक ल्याबमा पठाएको थियो। ल्याबबाट रिपोर्ट ल्याएपछि उनको बयान लिनको लागि सरकारी वकिल कार्यालयमा लगिएको थियो ।