तेस्रो पटक थपियो माइतीघर, सिंहदरबार र राष्ट्रपति कार्यालय क्षेत्रको निषेधाज्ञा

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको निषेधित क्षेत्रको अवधि तेस्रो पटक लम्ब्याएको छ ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आदेश जारी गर्दै थप दुई महिनाको लागि निषेधित क्षेत्र लम्ब्याएका हुन् ।

यसरी प्रशासनले निषेधित क्षेत्र तोकेको तेस्रो पटक हो । सुरूमा प्रशासन कार्यालयले गत मंसिर ५ गते ३० दिनका लागि पाँच जनाभन्दा बढी भेला जम्मा भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ गर्न निषेध गर्दै निषेधित क्षेत्र तोकेको थियो । त्यसपछि पुस ४ गते प्रशासनले दुई महिनाका लागि निषेधित क्षेत्र लम्ब्याएको थियो ।

गत मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमाले निकट युवा संघले गरेको कार्यक्रममा दंगा नहोस् भन्ने उद्देश्यले प्रशासनले उक्त आदेश जारी गरेको थियो । तर प्रसाईंको कार्यक्रम सकिए पनि प्रशासनले निषेधित क्षेत्र भने हटाएको छैन ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम यस्तो आदेश जारी गरिएको जनाइएको छ । निषेधाज्ञा जारी भएका स्थानमा राष्ट्रपति कार्यालय वरिपरी, प्रधानमन्त्री निवास बालुवाटारको क्षेत्र, संसद् भवन क्षेत्र, सिंहदरबार वरिपरि रहेको छ ।