नेपाल एयरलाइन्सले सिमकोट - सुर्खेत परिक्षण उडान भर्ने

काठमाडौँ । नेपाल एयरलाइन्सले सिमकोट सुर्खेत रुटमा परिक्षण उडान सुरु गर्ने भएको छ ।

यहि फागुन ७ गतेबाट नेपालगञ्ज-सिमकोट-नेपालगञ्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने भएको नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले जानकारी दिए।

सिमकोट-सुर्खेत हवाई उडान हुने भएपछि हुम्लाबासीलाई सहज हुने भएको स्थानीय गोर्ख रोकायाले बताए। ‘‘सिमकोट-सुर्खेत उडान सुरु भएपछि हुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सुर्खेत जानुपर्ने बाध्यता हट्नेछ,’ उनले भने।

सिमकोटबाट नेपालगञ्ज जान जहाजमा ४५ मिनेट लाग्छ भने नेपालगञ्बाट सुर्खेत पुग्न चार घन्टा लाग्छ। अब सिधै प्रदेश राजधानी सुर्खेत पुग्न नियमित उडान भए ३५ मिनेट पुग्न सकिने रोकायाको भनाइ छ।