भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न सरकारसँग माग गरेको छ ।

महासचिव डेकनाथ गौतमले विज्ञप्ति जारी गरी पछिल्लो समय दुर्घटना बढेकामा दुःख व्यक्त गर्दै भवितव्य दुर्घटनाका लागि राहत कोषको स्थापना गर्न सरकारसँग माग गरे ।

महासंघले बिहीबार बिहान महेन्द्रनगरबाट यात्रु लिएर काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायात प्रालिको रात्रि सेवामा सञ्चालित सुपप्र ०२–००१ ख ००९८ नंको यात्रुवाहक बस कपिलवस्तुको शिवराज नगरपालिका–१ मा दुर्घटना हुँदा १० जना यात्रुको घटनास्थलमा मृत्यु हुनाका साथै १५ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको हो ।

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले भवितव्य रुपमा भएको दुर्घटनाको सत्यतथ्य छानबिनको माग गर्दै मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरे ।  उनले दुर्घटनामा घाइते भएकाको उपचारको जिम्मेवारी लिनसमेत सरकारसँग माग गरे ।