यमपञ्चकको अन्तिम दिन : भाइटीका लगाएसँगै तिहार सम्पन्न 

काठमाडौँ - तिहारको मुख्य दिन आज नेपालीले भाइटीका पर्व मनाएका छन् ।

दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउनुका साथै मीठो मसिनो खुवाएका छन् भने दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर गच्छेअनुसार दक्षिणा दिएका छन् ।

भाइटीकाको साइत आज बिहान १०:५१ बजे भए पनि दिनभर टीका लगाउन बाधा नहुने भएकाले टाढा टाढा पुग्नेहरु तथा दिनभर टीका लगाउन आवतजावत गरिरहरेका थिए ।

दिदी बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।