जनताको करबाट तलब–भत्ता खाने अनि बैठकमै नबस्ने कार्य सुहाउँदो होइन : सांसद चौधरी

काठमाडौँ - नेपाल प्रहरीमा रही ३० वर्षको राष्ट्रसेवापछि केही समयअघि मात्र सक्रिय राजनीतिमा आएका रामप्रकाश चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट प्रतिनिधिसभा सदस्य हुन् । मुलुकमा अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयन गरी समृद्धि हासिल गर्ने यात्रामा एक ढिक्का भई अघि बढ्नुपर्नेमा दलहरूबीचमा कयौँ विषयमा प्रतिस्पर्धा र स्वार्थ बाझिएको घटनाप्रति उनलाई चित्त बुझेको छैन ।

संसद्लाई कहिले पनि अनिणर्यको बन्दी बनाइनु हुन्न भनी नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङका अभिव्यक्ति, उनले खेलेको भूमिका, अनुभव र अनुभूति स्मरण गर्दै उनी भन्छन्, ‘हामीले संसदमै पनि ठीक भूमिका निर्वाह नगरेका कारण विभिन्न प्रश्न आएका हुन् ।’ जनताका प्रतिनिधि मात्र नभई कानुन बनाउने व्यक्ति भएकाले सांसदले सदनमा बोलेका विषय इतिहासका रूपमा रेकर्डमा रहने हुँदा प्रस्तुति र व्यवहारले सकारात्मक सन्देश दिन सक्नुपर्छ भन्दै सांसद चौधरीले भने, ‘सदनलाई मर्यादित तुल्याउन जनप्रतिनिकै ठूलो हात छ, त्यो गर्नुपर्छ ।’

नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गरेका सांसद चौधरीसँग केही वर्ष विज्ञान शिक्षकका रूपमा काम गरेको अनुभव समेत छ । उनले नयाँ निर्वाचन भई सदन सञ्चालन भएको सात महिना बितिसक्दा समेत अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी ऐनबाहेक अरु विधेयक अघि नबढ्नुलाई विधायकबाट मूल जिम्मेवारीप्रति बेवस्ता भयो कि भन्ने प्रश्न उठ्नु स्वभाविक भएको प्रतिक्रिया दिए 

सर्लाही निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य चौधरी हाल लोसपाका संसदीय दलका प्रमुख सचेतक छन् । लामो समयदेखि प्राथमिकतामा रहेका सङ्घीय निजामती र शिक्षासम्बन्धीलगायतका विधेयकलाई सदनमा छलफलका लागि अघि बढाउने सन्दर्भमा पाइप लाइनमा रहेको उनको भनाइ छ । सरकारले ‘बिजनेस’ दियो भने मात्र संसद् र सांसदको भूमिका देखिने तथा सदनका काम कारबाही अघि बढ्ने भए पनि जनजीविका र समसामयिक विषयमा भने सदनमा आवाज उठाउँदै आएको सांसद चौधरी बताउँछन् ।

सङ्घीय सांसद मूल दायित्वबाट अल्मलिँदा कानुन निर्माण प्रभावित हुने मात्र नभई गणपूरक संख्या नपुगेर सदन र संसदीय समितिका बैठक समेत प्रभावित हुने गरेका छन् । आवश्यक न्यूनतम गणपूरक संख्या नपुगेर बैठक स्थगित भई विधेयक पास हुन नसक्नु भनेको जनप्रतिनिधिका लागि लाजमर्दाे विषय भएको उल्लेख गर्दै प्रमुख सचेतक चौधरीले जनताको करबाट तलब-भत्ता खाने अनि बैठकमै नबस्ने कार्य सुहाउँदो नभएको टिप्पणी गरे ।