'सुन तस्करी छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने प्रक्रिया अघि बढिसक्यो' :  प्रधानमन्त्री दाहाल 

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने तयारी भइरहेको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा चीन भ्रमणबारे जानकारी दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘सुन तस्करी प्रकरणको अनुसन्धान सकेर सीआईबीले प्रतिवेदन बुझाइसकेको छ । उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाढि बढेको छ ।’

प्रधानमन्त्री प्रचण्डले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई आक्रमण गर्ने व्यक्तिलाई कारबाही गरिने पनि बताए । शान्ति सुरक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

चीन भ्रमणका क्रममा कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा क्षेत्रमा सहयोग जुटाउनेबारे छलफल हुने प्रधानमन्त्री प्रचण्डले बताए । कोभिडका कारण बन्द भएका नाका खुलाउन कुरा गर्ने योजना रहेको प्रधानमन्त्री प्रचण्डले सदनलाई जानकारी गराए ।