आजको मौसम : देशभर बर्षाको सम्भावना, चार प्रदेशमा भारी पानी पर्ने सम्भावना

काठमाडौँ - हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिण पुर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली साथै मधेश प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।