बरामद गरिएको आखेटोपहार चितवन पठाउने तयारी

ताप्लेजुङ - विभिन्न समयमा ताप्लेजुङमा बरामद गरिएको आखेटोपहार चितवन राष्ट्रिय निकुञ्जमा पठाउने तयारी थालिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले विभिन्न समयमा बरामद गरिएको आखेटोपहार चितवनमा पठाउने तयारी भइरहेको जनाएको छ ।

वन्यजन्तुका करिब साढे २५ किलो आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज पठाउने तयारी भएको कार्यालयका वन अधिकृत बद्रीप्रसाद शाहले जानकारी दिए । उनका अनुसार सालक, भालु, रतुवा मृग, घोरल र याक÷चौँरीको करिब २५ दशमलव ५५१ किलोग्राम आखेटोपहार चितवन पठाइन लागिएको हो ।

कार्यालयका सहायक वन अधिकृत परमेश्वर पासवानका अनुसार शून्य दशमलव ९८१ किलोग्राम सालकको खपेटा, २.३० किलोग्राम भालुको, ४.४६ किलोग्राम याक तथा चौंरीको, १३.८८ किलोग्राम रतुवा मृगको, १ दशमलव ४४ किलोग्राम घोरलको तथा अन्य मृगको छाला चितवन पठाइने छ । उक्त आखेटोपहार विसं २०७९ चैत २ गते बरामद भएको वन कार्यालयले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्यजन्तुका आखेटोपहार घरमा राख्न, खरिद बिक्री, ओसारपसार गर्न, हस्तान्तरण गरी लिन-दिन नपाइने व्यवस्था रहेको छ ।

प्राकृतिक रुपमा मृत्यु भएका वन्यजन्तुबाट सङ्कलन गरिएका, वन्यजन्तु अपराधमा कानुनी कारबाहीको सिलसिलामा बरामद भएका र अन्य स्रोतबाट प्राप्त हुन आएका बाघ-चितुवाको छाला, हाड, खप्पर, दाह्रा, नङ्ग्र्रा, जुङ्गा, गैँडाको खाग, खुर, ढाल, हात्तीको दाह्रा, भालुको पित्त, कस्तुरीको विना, अजिङ्गर, रेडपाण्डाको छाला, चिरुको रौँ, सालकको खपेटा र अन्य यस्तै आखेटोपहार जिन्सी खातामा आम्दानी बाँधी भण्डारण गरिँदै आएको वन अधिकृत शाहले जानकारी दिए ।

उनका अनुसार भण्डारणका लागि डिभिजन वन कार्यालयको कानुनी क्षेत्राधिकारभित्र बरामद भएका आखेटोपहार सशस्त्र वन तालिम केन्द्र चितवन टिकौली र निकुञ्ज-आरक्षण-संरक्षण क्षेत्र कार्यालयको क्षेत्राधिकारभित्र बरामद भएका अन्य वन्यजन्तुका आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज कसरा, बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्धार, लामटाङ राष्ट्रिय निकुञ्जलगायतका स्थानमा भण्डारण गरिँदै आइएको छ ।