गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पक्का हुन्छ : भरतपुर महानगर प्रमुख दाहाल

चितवन - भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने पक्का भएको बताएकी छन्।

भरतपुर महानगरपालिकाले नारायणी नदी किनार गरेको वृहत सरसफाई तथा वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऋण तिर्ने विषय चुनौतीका रुपमा रहेकाले यसलाई टुंगो लगाउन धेरै समय लागेको उल्लेख गरिन्।

प्रमुख दाहालले गत आर्थिक वर्ष ०७९/०८० मा महानगरपालिकामा ऋण तिर्नका लागि रु १२ करोड आएको भएपनि समय अभावले ऋणीलाई दिन नसक्ने अवस्था सिर्जना भएको जानकारी दिइन्।

‘रंगशाला हामै पालामा बन्छ,हामी बनाउछौ। रंगशाला निर्माण गर्ने महानगरको प्रमुख ऐजेण्डा पनि हो।’, उनले भनिन,‘अहिले स्टीमेटको काम भईरहेका छन्। रंगशालामा स्टीमेट तयारका लागि धमाधम सरसफाईको काम पनि भईरहेको छ।’

स्टीमेट तयार गरेपछि यही आर्थिक वर्षमा बाँकी काम अगाडि बढ्ने उनको भनाइ छ ।‘केही महिनाअघि रंगशाला बन्छ, ढुक्क हुनु होस् भनेकी थिएँ, तर के हुँदैछ भनेर खबरदारी र चासो चिन्ता व्यक्त गरेको पाएको छु’, उनले भनिन्।