आजको शेयर बजारमा उछाल, नेप्से ५ दिनमा सय अङ्कको वृद्धि

काठमाण्डौँ - शेयर बजार यो हप्ताको पाँचैँ दिन बढेको छ । पाँच दिनमा शेयर बजारमा एक सय तीन अङ्कको वृद्धि भएको छ ।

गएको आइतवार बजार खुल्दा एक हजार नौ सय ३९ विन्दुमा रहेको शेयर बजार परिसूचक नेप्से आज बिहीवार दुई हजार ४२ विन्दुमा पुगेको छ । पछिल्लो आठ दिनदेखि शेयर बजार घटेको छैन । नेप्से आज पाँच अङ्कले बढेको छ । बीमा, उत्पादन, होटल र अन्य समूहको शेयर बढेको छ भने अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

बजार बढे पनि कारोबार रकममा भने निकै कमी आएको छ । हिजो बुधवार पाँच अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज दुई सय ७० वटा कम्पनीका ७८ लाख ९६ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १७ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भयो ।