लोक सेवा आयोगको ७४ औँ वार्षिकोत्सव आज

काठमाडौँ । लोक सेवा आयोगले आज ७४ औँ वार्षिकोत्सव मनाउँदैछ । नेपाल पब्लिक सर्भिस कमिशनको नामबाट विक्रम संवत् २००८ साल असार १ गते लोक सेवा आयोगको स्थापना भएको थियो ।

आयोगले निजामती सेवामा पदपूर्तिका लागि योग्यतम उम्मेदवार छनोट गरी स्थानीय नियुक्तिका लागि सिफारिस गर्दै आएको छ । यस्तै सुरक्षा निकाय र सङ्गठित संस्थाहरुको पदपूर्तिका लागि समेत आयोगले लिखित परीक्षा सञ्चालन गर्ने काम गर्छ ।

आयोगको वार्षिकोत्सवको पूर्वसन्ध्यामा जेठ ३०, ३१ र ३२ गते अन्तरसंवैधानिक निकाय हाजिरी जवाफ प्रतियोगिता, आन्तरिक ब्याडमिन्टन प्रतियोगिता र रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको छ । हाजिरीजवाफ प्रतियोगितातर्फ निर्वाचन आयोग पहिलो, राष्ट्रिय समावेशी आयोग दोस्रो र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेस्रो स्थान हासिल गरेका छन् ।

ब्याडमिन्टन खेलतर्फ अर्जुनप्रसाद रेग्मी र नरबहादुर बोगटीले प्रथम स्थान हासिल गरेका छन् । वार्षिकोत्सवका अवसरमा आयोगमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रमसमेत रहेको आयोगले जनाएको छ ।