अप्पर स्याङ्गे हाइड्रोपावरको आइपिओ बिक्री खुला, क–कसले दिन पाउँछन् आवेदन ?

काठमाडौँ - अप्पर स्याङ्गे हाइड्रोपावरको आज (सोमबार) देखि आइपिओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका २ लाख २० हजार कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्कासन गरेको हो। 

सो आइपिओमा लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका (साविकका घनपोखरा गा.वि.स. वडा नं. १ र २, खुदी गा.वि.स. वडा नं. ३, ताघ्रिङ गा.वि.स. वडा नं. ४, घेरमु गा.वि.स. वडा नं. ५, बाहुन डाँडा गा.वि.स. वडा नं। ६, भुलभुले गा.वि.स. वडा नं. ७ र ८ तथा सिमपानी गा.वि.स. वडा नं. ९० का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ६५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६५ हजार कित्ता आइपिओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।