टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ

काठमाडौँ - पूर्व उपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठ पासीकोटको एक घरबाट पक्राउ परेका छन् ।

नक्कली शरणार्थी बनाएर विदेश लैजाने नाममा भएको ठगी मुद्दामा फरार एमाले सचिवसमेत रहेका रायमाझी आइतबार साँझ पक्राउ परेका छन्। फरार भएको ११ औं दिनमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरी सो्रतका अनुसार रायमाझी शनिबार मात्रै काठमाडौ छिरेको सूचना प्रहरीले पाएको थियो। उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन्।

सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, सुरक्षाविज्ञ डा. इन्द्रजित राईलगायत १२ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट वैशाख २० मा पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी आउँदा उनी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए। त्यहाँबाट काठमाडौं हिँडेका रायमाझी फरार भएका थिए।