उपराष्ट्रपति निर्वाचनमा कुन दलसँग कति मत ?

काठमाण्डौँ -संविधानको धारा ६२ मा राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था छ। प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्मा ३३४ सदस्य रहेका छन्।

त्यस्तै, सातवटै प्रदेशमा गरी कुल ५५० प्रदेशसभा सदस्यसमेत गर्दा राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनमा कुल ८८४ मतदाता रहेका छन्। निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली प्रकाशन गरिसकेको छ।

राष्ट्रपतिबाट प्रमाणित भएको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संघीय संसद् र प्रदेशसभाका सदस्यको मतभार क्रमशः ७९ र ४८ तोकिएको छ।

यसअनुसार,संघीय संसद्का कुल ३३४ सदस्यको कुल मतभार (प्रति सदस्य ७९ का दरले) २६ हजार ३ सय ८६ हुन आउँछ। प्रदेशसभाका कुल ५५० सदस्यको कुल मतभार (प्रतिसदस्य ४८ का दरले) २६ हजार ४०० हुन आउँछ। यसरी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कुल मत ५२ हजार ७८६ हुन आउँछ। त्यसैले जितका लागि उम्मेदवारले २६ हजार ३९४ मत ल्याउनुपर्छ।

राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारका लागि मतदाता नामावलीमा नाम समावेश भएका पाँचजना प्रस्तावक र पाँचजना समर्थक हुनुपर्ने व्यवस्था छ।

उम्मेदवारको न्यूनतम् योग्यता वंशजका आधारमा नेपाली नागरिक भएको र कम्तीमा ४५ वर्ष उमेर पूरा भएको लगायतका व्यवस्था गरिएको छ। राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था संविधानमा छ।

यो व्यवस्थाले एउटै लिंगका व्यक्तिसमेत राष्ट्रपति र उपराष्ट्रपति बन्न सक्नेछन्। उनीहरू फरक समुदायको भए भने एकसाथ राष्ट्रपति र उपराष्ट्रपति बन्न बाधा नपुग्ने देखिन्छ।

राष्ट्रपति र उपराष्ट्रपतिका लागि हुने निर्वाचनमा उम्मेदवारले प्राप्त गरेको मत निर्वाचक मण्डल (संघीय संसद् र प्रदेशसभाका सदस्य) को तत्काल कायम रहेको कुल मतको बहुमत नभएमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुईजना उम्मेदवारबीच मतदान हुने गरी पुनः निर्वाचन हुनेछ।

दुईजनाबीच निर्वाचन हुँदा पनि कसैले ५० प्रतिशत मत नकटाएमा पुनः मतदान हुनेछ। त्यसपछि हुने निर्वाचनमा भने सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार नै विजयी हुनेछ। अर्थात्, ५० प्रतिशत मत कटाउनुपर्ने छैन।

कुन दलसँग कति मत ?

प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्मा ३३४ सदस्य छन्। कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा पर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने नागरिकता खारेजीमा पर्दा सांसद पनि खारेजी भएको छ।

जसपाका सांसद सहनाज रहमानको निधन भएको कारण उक्त सिट पनि हाल रिक्त छ। यस्तै, एमाले सांसद लक्ष्मी कोइरी फरार छन्। संघीय संसद् र प्रदेश संसद् गरी १४ दलको प्रतिनिधित्व छ। संसद्को प्रमुख दल नेपाली कांग्रेसको संघीय सदनमा ९८ सांसद छन्।

प्रतिनिधिसभामा ८८ र राष्ट्रियसभामा १० सांसदसहित कांग्रेस ठूलो दलका रूपमा रहेको छ। कांग्रेसको सात प्रदेशसभामा १७६ सांसद छन्। कांग्रेससँग मात्रै १६ हजार २६९ मतभार छ। संसद्को दोस्रो ठूलो दल एमालेसँग १५ हजार १५४, माओवादी केन्द्रसँग सात हजार ६४९, राष्ट्रिय स्वतन्त्र पार्टीसँग एक हजार ५८०, राप्रपासँग दुई हजार ४५०, जसपासँग दुई हजार १४५ मतभार छ।

त्यस्तै, एकीकृत समाजवादीसँग दुई हजार ५७४, जनमत पार्टीसँग एक हजार २४२, लोसपासँग ९७१, नागरिक उन्मुक्ति पार्टीसँग ८१३, नेमकिपासँग २२३, राष्ट्रिय जनमोर्चासँग २०६, नेपाल संघीय समाजवादी पार्टीसँग ४८ र हाम्रो नेपाली पार्टीसँग ९६ मतभार छ।

प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारको रूपमा विजयी सांसदहरूको संख्या १८ छ । उनीहरूसँग कुल एक हजार ५० मतभार हुन्छ।