सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनको तत्कालीन सल्लाहकार गुरुङविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका तत्कालीन सल्लाहकार ‘वैदेशिक मामिला विज्ञ’ जीवनकुमार गुरुङविरुद्ध मुद्दा दर्ता भएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर  भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो। गुरुङविरुद्ध १ अर्ब ४० करोड रुपैयाँबराबरको बिगो कायम गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।

गत मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित बारपाक, गोरखाका चन्द्र घले पक्राउ परेका थिए।

त्यसमा अनुसन्धान हुँदै जाँदा उक्त गिरोहले १ सय ३८ किलो सुन अवैध तरिकाले ओसारेको पत्ता लागेको थियो। सो प्रकरणमा तत्कालीन उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङको संलग्नता खुलेको हो।

६२ वर्षीय जीवनकुमार गुरुङ डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालक पनि हुन्।