अपराध नियन्त्रणका लागि निर्देशन नकुर्न ७७ जिल्लाका सुरक्षा अधिकारीलाई   गृहमन्त्रीको आदेश

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।

बिहिबार साँझ गृहमन्त्रालयबाट ‘भर्चुअल’ रुपमा निर्देशन दिँदै उनले आपराधिक गतिविधि नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने बताए ।

समस्या लिएर आउने सेवाग्राहीको काम तत्काल गरिदिन निर्देशन दिँदै उनले काम नहुने अवस्था छ भने कारणसहित सम्झाउन आग्रह गरे ।

उपप्रधानमन्त्री लामिछानेले सरुवा–बढुवाका लागि दबाब दिने तथा गल्ती गर्दा बचाउन सिफारिस गर्ने विद्यमान प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।   उनले दण्डहीनताको अन्त्य र फरार अपराधीको नियन्त्रणमा तत्काल देखिने गरी काम गर्न निर्देश गरे ।

अबको तीन महिनाभित्र गृह मन्त्रालयका हरेक सूचक सकारात्मक हुनुपर्नेमा जोड दिँदै गुहमन्त्री लामिछानेले काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेलाई कारबाही गरिने बताए ।

सो अवसरमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओकप्रकाश जोशीले पनि जिल्ला सुरक्षा समितिका अधिकारीलाई सुरक्षा, सुशासन, सेवा प्रवाह, नागरिक सेवालगायत विषयमा निर्देशन दिएका थिए ।