सगरमाथा भ्रमणमा गएका एक कोरियन नागरिकको लडेर मृत्यु

काठमाडौँ । सगरमाथा क्षेत्रको भ्रमणमा पुगेका एक कोरियन नागरिकको मृत्यु भएको छ ।

ओलम्पिक हिमाल आरोहण गरेर फर्कंदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा गत फागुन २८ गते लडेर ज्यान गएको हो ।

मृत्यु हुनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ । बाटोबाट चिप्लिएर लडेका ह्युनचल करिब दुई मिटर तल खसेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

हेलिकप्टरमार्फत उद्धार गरेर लुक्ला ल्याइएको मृतकको शव कानुनी प्रक्रिया पूरा गरी शवपरीक्षण लागि काठमाडौँको शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

मृतक ह्युनचल फागुन २१ गते एटेक्स कम्पनीमार्फत हिमाल आरोहणका लागि खुम्बु आएको जनाइएको छ ।