मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउन राष्ट्रिय सहमति हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउन राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।

बिहीबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सभामुख घिमिरेले व्यवस्था प्रति बढेको वितृष्णा अन्त्य गर्न, राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि राजनैतिक दलहरूबीच छलफल र सहकार्य हुनुपर्ने बताएका हुन् ।

उनले केहीको चाहनाका आधारमा व्यवस्था नै परिवर्तन हुने स्थिति नभएको र जनतामा देखिएको निराशा अन्त्यका लागि राजनीतिक दलहरू र नागरिकहरू एकताबद्ध हुनुपर्ने बताए ।

सभामुख घिमिरेले भर्खरै सुरु भएको संसद्को हिउँदे अधिवेशनलाई विगतको अनुभवका आधारमा गतिशील बनाएर लैजानुपर्ने धारणा राखे ।

उनले सरकारले चालू अधिवेशनमा सरकारले करिब ६१ वटा विधेयकहरू ल्याउने तयारी गरेकाले यस पटक धेरै कानून निर्माण हुन सक्ने जिकिर गरे।