माओवादीले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने, चैत र वैशाखमा दुईवटा अभियान सञ्चालन गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने निर्णय गरेको छ ।

पार्टीको विधान अधिवेशनमा २० समूहबाट प्राप्त सुझावको निष्कर्ष सुनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल चुनाव चिह्न र पार्टीको नाम नफेर्ने निष्कर्ष सुनाएका हुन् ।

त्यस्तै माओवादी केन्द्रले चैत र वैशाखमा दुई छुट्टाछुट्टै अभियान पनि सञ्चालन गर्ने भएको छ । जसअनुसार आगामी चैत १ देखि १५ गतेसम्म तराई मधेस जनजागरण अभियान चलाइने भएको छ ।

जसमा हुलाकी राजमार्गलाई केन्द्र बनाएर पूर्वदेखि–पश्चिमसम्मको अभियान चलाइने छ । त्यहाँबाट संठन निर्माण गर्ने पहल गर्ने भन्दै प्रचण्डले साथमा केन्द्रीय नेताहरु र सांस्कृतिक टीम समेत रहने प्रधानमन्त्री प्रचण्डले बताए ।

त्यसैगरी हिमाल पहाड तराई राष्ट्रिय एकता अभियान पनि सञ्चालन गरिने प्रचण्डको भनाइ छ ।  उत्तर–दक्षिण भनिएको उक्त अभियान वैशाख १ देखि १५ सम्म सञ्चालन हुने प्रचण्डको भनाइ छ ।