मधेशमा अर्को छुट्टै मोर्चा बनाउन क्वात्रासँग छलफल

काठमाडौं - पूर्वनिर्धारित कार्यक्रममा परिवर्तन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको मौखिक निम्तोमात्र दिएर फर्किएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले मधेशवादी दलका नेताहरु समक्ष भने मधेशमा एउटा छुट्टै मोर्चा बनाउनेबारे विचार विमर्श गरेका छन्।

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत(सिके राउत) ले भारतीय विदेश सचिव क्वात्रासँग मंगलबार भएको छलफलका क्रममा यो प्रसंग उठाएका थिए। एक्लै भेटेका नेता राउतले मधेश केन्द्रीत केही दलका नेताहरुबीच एउटा छुट्टै मोर्चा बनाउनेबारे छलफल भइरहेको जानकारी गराएको स्रोतले बताएको छ।

संघीय संसदमा ६ सिट रहेको सिके राउत नेतृत्वको जनमत पार्टी, ४ सिट रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र ४ सिट नै रहेको जेलमा रहेका रेशमलाल चौधरी मुख्य नेता र उनकी पत्नी रन्जिता चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका बीच मोर्चा बन्ने कसरत भएको छ।