१४ वर्षका बालकको बलात्कारमा १४ वर्षीया बालिका गर्भवती !

मुगु - मुगुमा एक १४ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ । सामुहिक बलात्कारमा परेकी बालिकाको गर्भमा बच्चा समेत रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक डिएसपी बीरेन्द्रबहादुर थापाले बताए ।

गत भदौमा भएको बलात्कार घटनामा नगर प्रहरी, सरकारी कार्यालयका कर्मचारी र केही स्थानीय व्यक्तिमाथि आरोप लगाइएको छ । बालिकाको गर्भमा भ्रुण हुर्कंदै गएपछि घटना सार्वजनिक भएको हो । बलात्कार घटनामा संलग्न रहेको आरोपमा छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका वर्ष ३० वर्षीय छाँयानाथ रारा नगरपालिकाका नगर प्रहरी बसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ आँसिधारा गाउँका वर्ष २२ का बसन्त रोकायालगायत अन्य केही १४ वर्षका बालकविरुद्ध जाहेरी परेको छ ।

१४ वर्षका बालकहरुले गत १६ भदौमा आफूमाथि बलात्कार गरेको र १० असोजमा नगर प्रहरी बसन्त कार्कीसहित बसन्त रोकाया र पदमबहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयानमा बताएको प्रहरीले जनाएको छ ।

बलात्कारपछि पेट दुख्ने जस्ता समस्याहरु भएपछि जिल्ला अस्पताल मुगुमा चेकजाँच गराउँदा आफ्नो पेटमा गर्भ रहेको कुरा थाहा पाएको पीडित बालिकाले बताएकी छन् ।