जलवायु परिवर्तन सम्मेलन कोप–२८ को अन्त्य : जीवाश्म इन्धनको युग ‘अन्तको’ सुरुवात गर्ने सहमति

काठमाडौँ - जीवाश्म इन्धनको युग ‘अन्तको’ सुरुवात गर्ने सहमति गर्दै संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्मेलन कोप–२८ सकिएको छ । उत्सर्जन कटौती गरी न्यायपूर्ण विश्व निर्माणको आधार तयार गर्ने सहमति सम्मेलनबाट जुटेको छ ।
कोप–२८ सम्मेलन संयुक्त अरब इमिरेट्सको दुबईमा दुई साता अघि सुरु भएको थियो ।

सम्मेलनका दुई सय पक्ष राष्ट्रका वार्ताकारले ‘पहिलो विश्वव्यापी समीक्षा’को निर्णय विश्वव्यापी तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्न जलवायु कार्यलाई तीव्र पार्ने उद्देश्यमा सहमति जनाएका छन् । ‘हामीले दुबईमा जीवाश्म इन्धनको युग पल्टाउन सकेनौँ, यो नतिजा अन्त्यको सुरुआत हो’, संयुक्त राष्ट्रसङ्घ, जलवायु परिवर्तनका कार्यकारी सचिव साइमन स्टिलले आफ्नो समापन भाषणमा भने, ‘अब सबै सरकार र व्यवसायीले ढिलाइ नगरी यी वाचालाई वास्तविकतामा परिणत गर्न आवश्यक छ ।’

‘जलवायुको विश्वव्यापी समीक्षा’लाई कोप–२८ को केन्द्रीय नतिजा मानिन्छ । यसमा वार्तामा भएका सबै तत्त्वहरू समावेश छन् । अब सन् २०२५ सम्ममा हुने जलवायु कार्य योजना विकास गर्न देशहरूले यी नतिजा प्रयोग गर्न सक्छन् । ‘जलवायुको विश्वव्यापी समीक्षा’ले तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्न विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनलाई सन् २०१९ स्तरको तुलनामा सन् २०३० सम्ममा ४३ प्रतिशत घटाउनुपर्ने विज्ञानलाई मान्यता दिएको छ । तर, यसले पेरिस सम्झौताका लक्ष्यहरू पूरा गर्ने कुरामा पक्ष राष्ट्रहरू प्रतिबद्धता पालनाबाट टाढा रहेका उल्लेख गरेको छ ।