३१ जेठ, काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिलले पिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।
फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान भएको समूह सी को आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको हो । छैटौं उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले मोरक्को विरुद्ध एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो ।
फिफा विश्वकपमा ८ वर्षपछि ब्राजिलले पहिलो खेलमा जित निकाल्न सकेन । यसअघि सन् २०१८ मा पनि ब्राजिल पहिलो खेलमा स्विटजरल्यान्डसँग १-१ को बराबरी खेलेको थियो ।
यद्यपी ब्राजिलले विश्वकपको पहिलो खेलमा अपराजित यात्रालाई भने २१ खेलसम्म लम्ब्याएको छ । सन् १९३४ मा भएको दोस्रो संस्करणमा ब्राजिल पहिलो खेलमै स्पेनसँग पराजित भएको थियो । त्यसयता ब्राजिलले विश्वकपमा खेलेको पहिलो खेलमा १७ खेल जितेको भने ४ खेल बराबरीमा सकिएको छ ।